बिद्यार्थीको शैक्षिक सत्र खेर नजाने, यस्तो छ सरकारको तयारी

विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले असार १ देखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने र चैतभित्र पठनपाठन पूरा गर्ने गरी अगाडि बढ्ने योजना रहेको जानकारी दिए ।

बन्दाबन्दीका कारण दुई महिनाभन्दा बढी समय विद्यार्थी घरमा बसे पनि उनीहरूको शैक्षिक सत्र खेर जान नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । मन्त्रालयका अनुुसार असार १ देखि सुरु गरिने वैकल्पिक विधिको कक्षा सञ्चालन कोरोना भाइरसको सङ्क्रमण जनजीवन सामान्य नहुँदासम्म सञ्चालन गरिनेछ ।

वैकल्पिक विधिबाट कक्षा सञ्चालन हुनुअघि विद्यालयले आफ्ना पुराना तथा नयाँ विद्यार्थीको खोजी गर्नुपर्ने जनाइएको छ । अनलाइन कक्षा सञ्चालन प्रभावकारी बनाउन विद्यार्थीको उपस्थिति हुनुपर्ने औँल्याइएको छ ।

विद्यालयले आफ्ना विद्यार्थीलाई पुस्तक तथा नतिजा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । अघिल्लो शैक्षिक सत्रजस्तो हिसाबले विद्यार्थी भर्ना गर्न व्यावहारिक समस्या भए पनि विद्यालयले आफ्ना विद्यार्थीको अभिलेखीकरण गरेर पठनपाठन अघि बढाउन सक्ने प्रवक्ता शर्माले बताए । निजी विद्यालयका सञ्चालकहरूले पनि आफ्ना विद्यार्थी खोजी गर्दै उनीहरूलाई वैकल्पिक विधिबाट पढाउने तयारी गरिने जनाएका छन् ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo